तस्करीसँग मिलेमतोको आरोपमा १८ सशस्त्र प्रहरीमाथि कारबाही, सात वर्षसम्म सीमा क्षेत्रमा नखटाइने
मिति: २०२६-०८-२१ , समय : १३:४४:०१ , Our Pradesh
मिति: २०२६-०८-२१ , समय : १३:४४:०१ , Our Pradesh
Our Pradesh
तस्करीसँग मिलेमतोको आरोपमा १८ सशस्त्र प्रहरीमाथि कारबाही, सात वर्षसम्म सीमा क्षेत्रमा नखटाइन
मोरङ । तस्करीमा संलग्न समूहसँग मिलेमतो गरेको आरोपमा छानबिनमा परेका सशस्त्र प्रहरीका १८ जना सुरक्षाकर्मीमाथि विभागीय कारबाही गरिएको छ। उनीहरूमध्ये केहीलाई निलम्बन गरिएको छ भने केहीलाई जिम्मेवारीविहीन बनाइएको जनाइएको छ।


पूर्वी नाका काँकडभिट्टा, सुनसरी र मोरङ क्षेत्रमा तस्करसँग साँठगाँठ गरेको आशंकामा दुई जना एसपीसहित १८ जना सशस्त्र प्रहरीमाथि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो।


छानबिनका क्रममा घुमुवा प्रहरी परिचालन गरी तस्करसँग रकम उठाउने, भन्सारमा ‘सेटिङ’ मिलाउने तथा गाईगोरु र लागूऔषध तस्करीमा सहयोग गरेको आरोपसमेत देखिएको स्रोतको दाबी छ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार संगठनको नीति, आचरण तथा अनुशासनविपरीत गतिविधिमा संलग्न कर्मचारीमाथि प्रचलित नियमावलीअनुसार विभागीय कारबाही गरिएको हो।
मुख्यालयले सीमा क्षेत्रमा पुनः खटाउँदा संगठनको छविमाथि प्रश्न उठ्न सक्ने भन्दै केही सुरक्षाकर्मीलाई सात वर्षसम्म सीमा क्षेत्रमा सरुवा नगर्ने निर्णय समेत गरेको स्रोतले जनाएको छ।
यद्यपि, आरोपित सुरक्षाकर्मीमाथिको कारबाही र छानबिनसम्बन्धी थप आधिकारिक विवरण भने सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सार्वजनिक हुन बाँकी छ।
प्रकाशित मिति: २०२६-०८-२१ , समय : १३:४४:०१ , २ महिना अगाडि