सीमा नजिक निर्माणाधीन गोदामप्रति स्थानीयको चासो, सुरक्षा चुनौती बढ्न सक्ने आशंका
मिति: २०२६-०८-३० , समय : २१:१२:२५ , Our Pradesh
मिति: २०२६-०८-३० , समय : २१:१२:२५ , Our Pradesh
Our Pradesh
सीमा नजिक निर्माणाधीन गोदामप्रति स्थानीयको चासो, सुरक्षा चुनौती बढ्न सक्ने आशंका
रङ्गेली। मोरङको रङ्गेली नगरपालिका–५ धनापट्टी क्षेत्रमा नेपाल–भारत सीमा नजिक धमाधम गोदाम निर्माण भइरहेका विषयमा स्थानीयवासीले गम्भीर चासो व्यक्त गरेका छन्।



स्थानीयका अनुसार दशगजा क्षेत्रबाट करिब २० मिटर उत्तरतर्फ पछिल्लो समय नयाँ गोदाम तथा संरचनाहरू निर्माण भइरहेका छन्। सो क्षेत्रमा यसअघि नै तीनवटा ठूला गोदाम सञ्चालनमा रहेको र पछिल्लो एक वर्षयता थप संरचनाहरू निर्माण भइरहेको उनीहरूको भनाइ छ।


स्थानीयका अनुसार ती गोदामहरूमा धान, मकै लगायतका कृषि उपज भण्डारण गर्ने गरिएको बताइन्छ। तर, सीमा नजिकै एकै क्षेत्रमा ठूला–ठूला गोदामहरू निर्माण भइरहनुले यसको वास्तविक प्रयोजन, स्वामित्व र कानुनी प्रक्रियाबारे प्रश्न उठेको उनीहरूको भनाइ छ।

‘धान र मकै राख्नका लागि मात्र सीमा नजिकै यति ठूलो संख्यामा गोदाम किन आवश्यक पर्यो?’ भन्ने प्रश्न स्थानीयले उठाएका छन्।
स्थानीयवासीले रातिको समयमा भारतबाट केही सामान नेपालतर्फ भित्रिने गरेको दाबीसमेत गरेका छन्। केही महिनाअघि मात्र भारतबाट टायल्स ल्याइएको आशंकामा धानको ट्र्याक्टरमुनि सामान लुकाएर रङ्गेलीतर्फ ल्याउँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीले एउटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको थियो।
त्यसैगरी, स्थानीयका अनुसार ती गोदाममा दैनिकजसो ३ देखि ४ वटा ट्र्याक्टरमा मकै आउने गरेको र बिहानसम्म ती मकै गोदाममा नरहने गरेको दाबी गरिएको छ। स्थानीयले मकैसमेत भारततर्फ जाने गरेको आशंका व्यक्त गरेका छन्। यद्यपि, मकैको वास्तविक गन्तव्य र कारोबारको प्रकृतिबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
सीमा क्षेत्रमा खुला आवागमन र व्यापारिक गतिविधि हुने भएकाले सुरक्षा निकायका लागि समेत निगरानी चुनौतीपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी तथा कडाइ गरे पनि खुला सीमाका कारण अवैध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको उनीहरू बताउँछन्।
स्थानीयवासीले सीमा नजिकै यस्ता ठूला संरचना निर्माणका लागि अनुमति दिँदा सम्बन्धित निकायले निर्माण स्वीकृति, जग्गाको स्वामित्व, व्यवसाय दर्ता, गोदामको प्रयोजन, लगानीको स्रोत तथा सुरक्षा संवेदनशीलता लगायतका विषयमा पर्याप्त अध्ययन गर्नुपर्ने माग गरेका छन्।
केही स्थानीयले गोदाममा भारतीय लगानीसमेत रहेको दाबी गरेका छन्। तर, यसबारे पनि हालसम्म आधिकारिक पुष्टि भएको छैन।
स्थानीयको प्रश्न छ—यदि गोदामहरू कृषि उपज भण्डारणकै लागि हुन् भने ती गोदामबाट दैनिक हुने भनिएको मकैको आवतजावत, रातिको समयमा हुने गतिविधि र सीमा नजिकैको स्थान छनोटबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने कि नपर्ने?
सीमा क्षेत्र संवेदनशील भएकाले यस्ता संरचनाको उद्देश्य र गतिविधिबारे नियमित अनुगमन आवश्यक रहेको स्थानीयको भनाइ छ। उनीहरूले सीमा नजिकै यस्ता गोदाम निर्माणका लागि अनुमति दिनु नै भविष्यमा सुरक्षा चुनौती निम्त्याउने कारण बन्न सक्ने भन्दै सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।
यस विषयमा रङ्गेली नगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सम्बन्धित अधिकारीहरूको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
प्रकाशित मिति: २०२६-०८-३० , समय : २१:१२:२५ , २ महिना अगाडि