रानी प्रहरी कार्यालयलाई बुझाइएको गाडीबाट ६० किलो गाँजा बरामद, अस्पतालको नाम हटाइएको आरोपले प्रहरीमाथि प्रश्न

मिति: २०२६-०९-०२ , समय : १८:२८:२३ , Our Pradesh

Our Pradesh

विराटनगर। विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल प्रा.लि.’को नाम लेखिएको गाडीबाट करिब ६० किलो गाँजा बरामद भएको घटनामा गाडीको पहिचान तथा अस्पतालसँग सम्बन्धित प्रमाण हटाइएको आरोप उठेपछि इलाका प्रहरी कार्यालय रानीको भूमिकामाथि समेत प्रश्न उठेको छ।

सशस्त्र प्रहरी बल दरैयाबाट खटिएको टोलीले राति करिब ११ बजे को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएको जनाएको छ। त्यसपछि गाडीको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

‘अपन विराटनगर’ले प्राप्त गरेको तस्वीरमा उक्त गाडीमा ‘दिव्य ज्योति आँखा अस्पताल प्रा.लि.’ लेखिएको देखिन्छ। सशस्त्र प्रहरीले बरामदी मुचुल्कासहित गाडी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको जनाएको छ। तर, त्यसपछि सार्वजनिक गरिएको गाडीमा अस्पतालसँग सम्बन्धित नाम तथा पहिचान नरहेको भन्दै प्रमाण हटाइएको वा नष्ट गरिएको आरोप उठेको छ।

यस घटनाले रानी प्रहरी कार्यालयलाई बुझाइसकेपछि गाडीको अवस्था किन परिवर्तन भयो? अस्पतालको नाम कसरी हट्यो? भन्ने प्रश्नसमेत खडा गरेको छ। यद्यपि, प्रमाण वा पहिचान जानाजानी हटाइएको विषयमा प्रहरीले हालसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन।

सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार उक्त गाडी नेपाल–भारत सीमाक्षेत्रमा रातिको समयमा पटक–पटक शंकास्पद रूपमा देखिँदै आएको थियो। गाडीमा अस्पतालको नाम कसरी र किन प्रयोग गरिएको थियो तथा घटनामा अस्पतालसँग सम्बन्धित कुनै व्यक्ति वा अन्य पक्षको संलग्नता छ/छैन भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

यता, दिव्य ज्योति आँखा अस्पतालका अध्यक्ष देवा यादवले उक्त गाडी अस्पतालको नभएको र अस्पतालको सम्पर्कमा समेत नरहेको दाबी गरेका छन्। विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै यादवले आफूहरूलाई आरोपित गर्ने उद्देश्यले चलखेल गरिएको दाबी गरेका छन्। अनुसन्धानमा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ।

गाडीमा रहेको पहिचान वा अन्य सामग्री जानाजानी हटाइएको वा नष्ट गरिएको हो भन्ने विषयमा हालसम्म सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-०२ , समय : १८:२८:२३ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित