सिटी सफारीले ठक्कर दिएका वृद्धलाई सडकमा छाडेर चालक फरार, उपचार नपाउँदै मृत्यु
मिति: २०२६-०९-१३ , समय : १५:५६:१५ , Our Pradesh
मिति: २०२६-०९-१३ , समय : १५:५६:१५ , Our Pradesh
Our Pradesh
सिटी सफारीले ठक्कर दिएका वृद्धलाई सडकमा छाडेर चालक फरार, उपचार नपाउँदै मृत्यु
विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा सडकमा छाडेर चालक फरार भएको घटना सार्वजनिक भएको छ। समयमै उपचार नपाउँदा घाइते वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।



आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी सोही सिटी सफारीमा राखेर उपचारका लागि पठाएका थिए।


तर, अस्पताल पुर्याएर उपचार गराउनुको सट्टा चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा वृद्धलाई छाडेर सिटी सफारीसहित फरार भएको प्रहरीले जनाएको छ। केही समयपछि सोही स्थानमा बस्नेत मृत अवस्थामा भेटिएका थिए।
घटनापछि प्रहरीले सिटी सफारीसहित फरार चालकको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा बिहान करिब ८ः३० बजे मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगतलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।
प्रहरीले भगतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-१३ , समय : १५:५६:१५ , २ महिना अगाडि