विश्वकर्मा पूजा आज, औजार तथा मेसिनरीको पूजा गरी मनाइँदै
मिति: २०२६-०९-१७ , समय : ०७:२७:४९ , Our Pradesh
मिति: २०२६-०९-१७ , समय : ०७:२७:४९ , Our Pradesh
Our Pradesh
विश्वकर्मा पूजा आज, औजार तथा मेसिनरीको पूजा गरी मनाइँदै
मोरङ । आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा। निर्माण, प्रविधि, उद्योग तथा विभिन्न पेसासँग जोडिएका औजार, मेसिनरी र सवारीसाधनको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ।


हिन्दू धर्मावलम्बीहरूले भगवान् विश्वकर्मालाई सृष्टि तथा निर्माणका देवताका रूपमा पूजा गर्ने परम्परा छ। विशेषगरी कलकारखाना, वर्कसप, उद्योग, निर्माण व्यवसाय, इलेक्ट्रोनिक्स पसल तथा प्राविधिक क्षेत्रमा संलग्नहरूले आफ्ना उपकरण र मेसिन सफा गरी विधिपूर्वक पूजा गर्ने गर्छन्।


विश्वकर्मा पूजाका अवसरमा औजार तथा मेसिनरीलाई कामको साधन मात्र नभई श्रम, सीप र उत्पादनसँग जोडिएको महत्वपूर्ण माध्यमका रूपमा सम्मान गर्ने गरिन्छ। यस दिन नयाँ मेसिन, उपकरण तथा सवारीसाधनको पूजा गर्ने र आगामी दिनमा काममा सफलता तथा दुर्घटनाबाट सुरक्षा मिलोस् भन्ने कामना गर्ने चलनसमेत छ।
नेपालका विभिन्न औद्योगिक तथा बजार क्षेत्रमा आज बिहानैदेखि विश्वकर्मा पूजाको तयारी गरिएको छ। कतिपय स्थानमा पूजा–आराधनासँगै प्रसाद वितरण तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदैछन्।
विश्वकर्मा पूजाले श्रमको सम्मान, सीपको महत्व र प्रविधिको सदुपयोग गर्ने सन्देशसमेत दिने भएकाले यस पर्वलाई धार्मिक आस्थासँगै सामाजिक तथा व्यावसायिक महत्व बोकेको पर्वका रूपमा लिइन्छ।
प्रकाशित मिति: २०२६-०९-१७ , समय : ०७:२७:४९ , ९ घन्टा अगाडि