धनपालथानमा कांग्रेस र रास्वपाबीच संगठन विस्तारको प्रतिस्पर्धा, गाउँ–टोलमा बढ्दै राजनीतिक सक्रियता

मिति: २०२६-१०-३० , समय : ०८:३६:५५ , Our Pradesh

Our Pradesh

धनपालथानमा कांग्रेस र रास्वपाबीच संगठन विस्तारको प्रतिस्पर्धा, गाउँ–टोलमा बढ्दै राजनीतिक सक्रियता

धनपालथान, मोरङ । मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पार्टी संगठन विस्तार तथा टोल समिति गठन गर्ने विषयमा तीव्र प्रतिस्पर्धा देखिन थालेको छ। दुवै दल गाउँपालिकाका विभिन्न वडा तथा टोलमा आफ्नो संगठन बलियो बनाउने रणनीतिसहित सक्रिय भएका छन्।

 

पछिल्लो समय धनपालथानका विभिन्न टोलमा दुवै दलले संगठन विस्तारलाई प्राथमिकता दिँदै आएका छन्। एउटा टोलमा बिहान एउटा पार्टीले टोल समिति गठन गरेर संगठन विस्तारको अभियान सञ्चालन गर्दा त्यही टोलमा साँझसम्म अर्को पार्टीले पनि आफ्नो संगठन खडा गर्ने गरेको देखिन्छ। यसले गाउँपालिकामा दुई दलबीच संगठन विस्तारको प्रतिस्पर्धा थप रोचक बन्दै गएको संकेत गरेको छ।

 

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँपालिकाका विभिन्न वडामा आक्रामक रूपमा टोल संगठन विस्तार गर्दै लगेपछि नेपाली कांग्रेस पनि आफ्नो संगठनलाई थप सक्रिय बनाउन जुटेको देखिन्छ। पछिल्लो समय नेपाली कांग्रेसले दैनिक तीनदेखि चार वटासम्म टोल समिति गठन तथा संगठन विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

नेपाली कांग्रेस गाउँपालिका समितिले आफ्ना नेता तथा कार्यकर्तालाई गाउँ–गाउँ र टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न, पार्टीको संगठन विस्तार गर्न तथा कार्यकर्तालाई सक्रिय बनाउन परिचालन गरिरहेको देखिन्छ।

 

धनपालथान गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य राजनीतिक दलहरूको पनि उपस्थिति रहे तापनि पछिल्लो समय संगठन विस्तारको गतिविधि र सक्रियताका आधारमा यी दुई दलबीचको प्रतिस्पर्धा बढी चर्चामा देखिएको छ।

 

दुवै दलले टोलस्तरमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहँदा आगामी दिनमा धनपालथानको राजनीतिक माहोल थप प्रतिस्पर्धात्मक बन्न सक्ने देखिन्छ। यद्यपि, संगठन विस्तारको यो सक्रियता आगामी निर्वाचनमा मतदाताको समर्थनमा कति रूपान्तरण हुन्छ भन्ने कुरा भने समयले नै देखाउनेछ।

प्रकाशित मिति: २०२६-१०-३० , समय : ०८:३६:५५ , ८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित