चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय रंगेली सफल, प्रहरी निरीक्षक अशोक झाको चौतर्फी प्रशंसा
मिति: २०२६-११-१७ , समय : १२:४०:१८ , Our Pradesh
मिति: २०२६-११-१७ , समय : १२:४०:१८ , Our Pradesh
Our Pradesh
रंगेली । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोक झाको नेतृत्वमा यस वर्ष चाडपर्वका अवसरमा रंगेली प्रहरीको कार्यक्षेत्रभित्र शान्ति सुरक्षा प्रभावकारी रूपमा कायम भएको भन्दै स्थानीयवासीले प्रहरीको चौतर्फी प्रशंसा गरेका छन्।


विगतका वर्षहरूमा छठ पर्वका क्रममा छठघाट तथा मेला क्षेत्रमा झैझगडा, कुटपिट, पानीमा डुबेर हुने दुर्घटना तथा अन्य अप्रत्याशित घटनाहरू पटकपटक हुने गरेका थिए। तर यस वर्ष छठ पर्वलगायतका प्रमुख चाडपर्वमा कुनै पनि ठूलो अप्रिय घटना नघट्नुले प्रहरीको सुरक्षा व्यवस्थापन प्रभावकारी देखिएको स्थानीयको भनाइ छ।



प्रहरी निरीक्षक अशोक झाको नेतृत्वमा सादा पोशाकका प्रहरीसहित तीन घेरामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको थियो। छठघाट, मेला, बजार तथा भीडभाड हुने स्थानहरूमा प्रहरीको सक्रिय उपस्थिति देखिएको थियो।

केही वर्षअघि बक्राहा खोलामा छठघाट निर्माण तथा छठ पर्वका क्रममा भएका अप्रत्याशित घटनामा केही व्यक्तिले ज्यानसमेत गुमाएका थिए। त्यसैगरी दसैँका बेला मेला क्षेत्रमा झैझगडा तथा कुटपिटका घटनासमेत हुने गरेका थिए। तर यस वर्ष यस्ता घटनामा उल्लेख्य कमी आउनु प्रहरीको पूर्वतयारी, सतर्कता र सक्रियताको परिणामका रूपमा स्थानीयले लिएका छन्।
विशेषगरी रंगेलीस्थित संसारी मन्दिरमा नवरात्रिका अवसरमा लागेको अत्यधिक भीड व्यवस्थापनमा प्रहरीले खेलेको भूमिका प्रशंसनीय देखिएको थियो। लाखौँ भक्तजनको आवागमनलाई व्यवस्थित गर्दै यातायात व्यवस्थापनदेखि दर्शनार्थीको सुरक्षासम्म प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको थियो।
त्यसैगरी चाडपर्वको समयमा बजार क्षेत्रमा हुन सक्ने चोरी, झैझगडा, कुटपिट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा समेत प्रहरीले विशेष निगरानी बढाएको थियो। परिणामस्वरूप यस वर्ष रंगेली प्रहरीको कार्यक्षेत्रमा ठूला अप्रिय घटनाहरू हुन पाएनन्।
सुरक्षा व्यवस्थापनमा देखिएको सक्रियता, समयमै गरिएको पूर्वतयारी र प्रहरीको जिम्मेवारीबोधले चाडपर्वलाई शान्तिपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्थानीयवासीले प्रहरी निरीक्षक अशोक झासहित इलाका प्रहरी कार्यालय रंगेलीको सम्पूर्ण प्रहरी टोलीको खुलेर प्रशंसा गरिरहेका छन्।
शान्ति सुरक्षा कायम गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भए पनि त्यसलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन गर्दै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नु प्रशंसनीय कार्य भएको स्थानीयको प्रतिक्रिया छ।
प्रकाशित मिति: २०२६-११-१७ , समय : १२:४०:१८ , १ दिन अगाडि