जदाहाबाट भारततर्फ स्याउ तस्करीको आरोप, भुस तथा मकै व्यापारीको आवरणमा अवैध कारोबार भएको दाबी

मिति: २०२६-१०-०३ , समय : ११:३९:१५ , Our Pradesh

Our Pradesh

जदाहाबाट भारततर्फ स्याउ तस्करीको आरोप, भुस तथा मकै व्यापारीको आवरणमा अवैध कारोबार भएको दाबी

मोरङ — जदाहा गाउँपालिकाबाट भारततर्फ अवैध रूपमा स्याउ लैजाने क्रम पछिल्लो समय बढेको स्थानीयको आरोप छ। सिटी रिक्सा, साना गाडी तथा अन्य सवारीसाधनको प्रयोग गरी सीमावर्ती क्षेत्र हुँदै स्याउ भारत पुर्‍याउने गरिएको दाबी स्थानीयले गरेका छन्।

(File photo)

स्थानीयका अनुसार भारत लैजानुअघि स्याउहरू कटहरी क्षेत्रका केही फलफूल पसल तथा गोदाममा भण्डारण गर्ने र त्यहाँबाट साना सवारीसाधनमार्फत सीमासम्म पुर्‍याउने गरिएको छ। सीमामा खटिएका सुरक्षाकर्मीको निगरानी छल्दै भारततर्फ लैजाने गरिएको आरोपसमेत लगाइएको छ।

 

यसैबीच, आफूलाई धान, भुस तथा मकै व्यापारीका रूपमा चिनाउने केही व्यापारीमाथि समेत गम्भीर आरोप लागेको छ। स्थानीयको दाबीअनुसार तीमध्ये केही व्यक्तिले आफ्नो व्यापारिक परिचय तथा गोदामको आवरणमा अधिकांश समय स्याउको अवैध ओसारपसार गर्ने गरेको र पछिल्लो समय गाँजा लगायतका अवैध सामग्री ओसारपसारमा समेत संलग्न रहेको आरोप छ।

 

स्थानीयका अनुसार व्यापारका नाममा प्रयोग भइरहेका केही गोदाम तथा भण्डारणस्थलबाट सामान ओसारपसार गर्ने र सिटी रिक्सा तथा साना सवारीसाधनमार्फत सीमावर्ती क्षेत्रसम्म पुर्‍याउने गरिएको छ। यस्ता गतिविधिमा केही राजनीतिक व्यक्तिको पहुँच तथा प्रभाव प्रयोग भइरहेको आरोपसमेत स्थानीयस्तरमा उठेको छ।

 

प्रहरीको भूमिकामाथि पनि प्रश्न

 

उक्त क्षेत्रमा प्रहरी चौकीसमेत रहेको अवस्थामा लामो समयदेखि यस्तो गतिविधि भइरहेको दाबी सार्वजनिक भएपछि प्रहरी प्रशासनको निगरानी र भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। नियमित रूपमा सवारीसाधन तथा सामानको आवतजावत हुने क्षेत्रमा सुरक्षा निकायको उपस्थिति हुँदाहुँदै अवैध ओसारपसार नियन्त्रण हुन नसकेको भन्दै स्थानीयले प्रभावकारी छानबिनको माग गरेका छन्।

 

स्थानीयले स्याउ तथा गाँजाको सम्भावित अवैध ओसारपसार, गोदामको प्रयोग, व्यापारीको वास्तविक कारोबार तथा सीमाक्षेत्रमा हुने गतिविधिबारे सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

 

प्रकाशित मिति: २०२६-१०-०३ , समय : ११:३९:१५ , १ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित