. “रङ्गेली बोर्डर ‘ओपन गेट’: चोपडा, घागी, आमगाछी हुँदै लागू औषधदेखि इलेक्ट्रोनिक्ससम्मको सुनियोजित तस्करी!”

मिति: २०२५-०५-१२ , समय : १६:१४:०८ , Our Pradesh

Our Pradesh

“रङ्गेली सीमाबाट सुनियोजित तस्करी: लागू औषधदेखि हार्डवेयरसम्म, चोपडा, घागी पुल, आमगाछी र धनापट्टी तस्करका ‘फ्री पास’ नाका!”

 

लागू औषध, रक्सी, सुर्ती र किराना सामानको तस्करी: खुला खेल!

 

रङ्गेली, मोरङ —

रङ्गेली नगरपालिका अन्तर्गतका सीमावर्ती नाकाहरू—चोपडा, चोपडा बारुद, घागी पुल, आमगाछी र धनापट्टी—वर्षौंदेखि लागू औषध, सुर्ती, खैनी, रक्सी, कपडा, कस्मेटिक र किराना सामानको खुला तस्करीको अखडा बनिसकेका छन्।

स्थानीय सुराकी र अनुसन्धानमा आधारित रिपोर्ट अनुसार, बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ पछि यी नाकाहरूबाट दैनिक लाखौं मूल्यका सामानहरू मोटरसाइकल, टेम्पो, ठेला र ट्रयाक्टरमार्फत लुकाईछिपाई नेपाल भित्र्याइन्छ।

चोपडा बोर्डर हुँदै लागू औषध र रक्सीको नियमित ओसारपसार

चोपडा–बारुद नाकाबाट रङ्गेली बजारको तीन चक्के सवारीसाधन प्रयोग गरी रातको समयमा रक्सी र लागू औषध नेपाल भित्र्याइन्छ। ती सामानहरू स्थानीय नेपाली घरहरूमा लुकाएर राख्ने गरिएको पुष्टि भएको छ।

 

आर्यघाट–सिसाबारी–कानीपोखरी: तस्करीको ‘सेफ रुट’

 

खैनी, सुर्ती र लागू औषधहरू चोपडा बोर्डर हुँदै आर्यघाट, सिसाबारी, बियर फ्याक्ट्री मार्गबाट कानीपोखरीसम्म पुर्‍याइन्छ। सो रुटको प्रयोग ‘कम जोखिम, भरपर्दो मार्ग’का रूपमा गरिन्छ।

 

घागी पुल र आमगाछी–धनापट्टी बोर्डर: पुरानो पुल, नयाँ तस्करी रुट

 

वर्षौंदेखि अलपत्र घागी पुल तस्करहरूको मुख्य हाइवेमा परिणत भइसकेको छ। त्यस्तै आमगाछी र धनापट्टी बोर्डरबाट तस्करहरू टाउकोमा सामान बोकी नेपाल ल्याउँछन्, र स्थानीय गाडीमा गोदामसम्म पु-र्‍याउँछन्।

 

 

 

हार्डवेयर, कस्मेटिक र इलेक्ट्रोनिक सामानको सुनियोजित ओसारपसार

सुरुवातमा देखिने लागू औषध र रक्सीको तस्करी मात्र होइन—हालैका वर्षहरूमा एलईडी टिभी, इनभर्टर, ब्याट्री, फ्रिज, मोटर, वायरिङ सामग्री, मिक्सर ग्राइन्डर, पंखा, टुलबक्स, कस्मेटिक लगायतका महँगा हार्डवेयर र इलेक्ट्रोनिक सामानहरू पनि ती बोर्डरहरू हुँदै भारतबाट नेपाल भित्रिन थालेका छन्।

 

चोपडा बोर्डर हुँदै लाखौं मूल्यका इलेक्ट्रोनिक सामग्री प्रवेश

 

स्थानीय स्रोतका अनुसार, चोपडा बोर्डर रातको समयमा हार्डवेयर र इलेक्ट्रोनिक सामान तस्करीको मुख्य केन्द्र बनेको छ। मोटरसाइकल र ट्रयाक्टर प्रयोग गरी सामान नेपाल ल्याइन्छ र गोदाममा जम्मा गरिन्छ।

रङ्गेली–ग्रामथान हुँदै मुख्य बजार, अनि विराटनगरसम्मको नेटवर्क

 

यी सामानहरू ग्रामथान, रङ्गेली बजार हुँदै गोदाममा थुपारिन्छ र त्यहाँबाट साना गाडीमार्फत विराटनगर, उर्लाबारी, कानीपोखरी, धनकुटा, धरानसम्म सप्लाई गरिन्छ।

स्थानीय जनताको भनाइमा, यी सन्चालनहरूमा राजनीतिक संरक्षण र सुरक्षाकर्मीको मौनता मुख्य कारक बनेका छन्।

 

स्थानीयको आक्रोश:

 

“पाँच किलो नुन ल्याउँदा चेक गर्ने प्रहरी, लाखौंको टिभी, फ्रिज ओसार्दा किन देख्दैन?”

यस्तो दोहोरो मापदण्डले गर्दा जनतामा प्रहरी प्रशासनप्रति गम्भीर अविश्वास बढेको छ। तस्करहरूको रूट, गोदाम र वितरण नेटवर्क खुलेआम सञ्चालन भइरहे पनि, कारबाहीको कुनै प्रयास नदेखिनुले स्थानीय शासन र सुरक्षातन्त्र दुवैको कार्यशैलीमाथि प्रश्न उठेको छ।

 

 

रङ्गेली नगरपालिका भित्रका सीमावर्ती नाकाहरू—चोपडा, घागी पुल, आमगाछी, धनापट्टी—तस्करीको ‘ओपन गेट’ मा परिणत भएका छन्।

अब प्रहरी प्रशासन, नगर कार्यपालिका, र राजनीतिक नेतृत्व एक भएर यो तस्करी नियन्त्रण गर्न गम्भीर नहुने हो भने, रङ्गेली

को छवि र सुरक्षा दुवै गम्भीर संकटमा पर्ने निश्चित छ।

प्रकाशित मिति: २०२५-०५-१२ , समय : १६:१४:०८ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित