रङ्गेली अस्पतालमा लापरवाही? एउटै बिरामीलाई तीनपटक अपरेसन, अर्का नाबालक बालक आइसीयूमा

मिति: २०२५-०४-२६ , समय : १५:२२:१८ , पारस मण्डल

पारस मण्डल

रङ्गेली अस्पतालमा लापरवाही? एउटै बिरामीलाई तीनपटक अपरेसन, अर्का नाबालक बालक आइसीयूम

रङ्गेली, मोरङ — रङ्गेली अस्पतालमा पछिल्लो समय भएका दुई घटनाले अस्पतालको उपचार पद्धति र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएका छन्।

 

रङ्गेली नगरपालिका–५ निवासी ३६ वर्षीय राजेश्वर ठाकुरलाई हाइड्रोसिल को उपचारका लागि केही महिना अगाडि अस्पताल लगिएको थियो। पहिलोपटक शल्यक्रिया गरेपछि १० दिनमै रक्तसञ्चारमा समस्या देखियो भन्दै पुनः अपरेसन गरियो। तर, करिब दुई महिनापछि फेरि ‘साइनस’ समस्या देखाएर तेस्रोपटक शल्यक्रिया गरिएको छ। पटक–पटक अपरेसन भोग्नुपरेपछि ठाकुर अहिले मानसिक तनावमा छन्।

उनका परिवारजनले अस्पतालले दोस्रोपटकको अपरेसनमा शुल्क नलिएको भए पनि औषधि बाहिरबाट किन्न बाध्य बनाएको र तेस्रोपटक पुनः थप खर्च भएको गुनासो गरेका छन्। वरिष्ठ सर्जन डा. हरेराम माझीका अनुसार यस्तो समस्या ‘सामान्य प्रक्रिया’ भित्र पर्दछ र अन्य अस्पतालहरूमा पनि यस्ता घटना भइरहन्छन्।

 

तर, पटक–पटक एउटै बिरामीलाई एउटै समस्याका लागि अपरेसन गर्नु परेको विषयमा अस्पतालको दक्षता र जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ।

यसैबीच, वैशाख ११ गते अर्का पीडित रङ्गेली वडा नम्बर–४ का धीरज शाह आफ्ना आठ महिनाका छोरा सानु शाहलाई लिएर रङ्गेली अस्पताल पुगेका थिए। प्रारम्भिक जाँचपछि अस्पतालले बालकलाई “सामान्य अवस्था” भन्दै घर फर्काएको थियो।

तर, घर फर्किएपछि बेलुका बच्चालाई श्वास फेर्न गाह्रो भयो र अवस्था जटिल बन्दै गएपछि तत्काल विराटनगर लगिएको थियो। हाल बालक विराटनगरको नरसिंह पुन अस्पतालको आइसीयूमा गम्भीर अवस्थाम उपचाररत छन्।

धीरज शाहका अनुसार अस्पतालले घर पठाउँदा पाँच दिनपछि मात्रै पुनः जाँचका लागि आउन भनेका थिए। विराटनगर पुगेपछि डाक्टरहरूले अवस्था गम्भीर भइसकेको र यदि दुई दिन अघि ल्याइएको भए अवस्था सहज हुने प्रतिक्रिया दिएका थिए।

 

शाह परिवारले रङ्गेली अस्पतालमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन्।

प्रश्नहरू उठ्दै

 

यी दुई घटनाले रङ्गेली अस्पतालको उपचार प्रणाली कत्तिको भरपर्दो र जिम्मेवार छ भन्ने विषयमा गम्भीर प्रश्न उठाएका छन्।

के प्रारम्भिक जाँचमा आवश्यक सावधानी र परीक्षण गरिएको थियो?

 

के बिरामी वा अभिभावकलाई पर्याप्त सचेतना र सटीक जानकारी प्रदान गरिएको थियो?

 

किन औषधि फार्मेसीमा उपलब्ध गराउन नसकिएको र बाहिरबाट किन्न बाध्य बनाइयो?

oplus_131072

पटक–पटक अपरेसन गर्नु पर्ने अवस्थालाई सामान्य भनेर पन्छिन मिल्छ?

 

 

स्थानीय बासिन्दाहरूले अस्पताल प्रशासनसँग स्पष्ट जवाफ मागेका छन् र यस्ता घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ।

रङ्गेली अस्पतालको सेवाप्रति नागरिकहरूको विश्वास गुम्दै गएको यो अवस्थामा, सम्बन्धित निकायहरू गम्भीर बन्ने कि यस्तै

लापरवाहीका घटनाहरू दोहोरिँदै जाने?

 

प्रकाशित मिति: २०२५-०४-२६ , समय : १५:२२:१८ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित